June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको साउदी प्रस्थान केहि समयको लागि सर्ने सम्भावना बढेको छ। मेस्सी आफैंले साउदी प्रस्थानलाई सार्ने योजना बनाएका हुन्। विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सीले साउदी क्लब अल हिलाललाई आफ्नो ट्रान्सफर आउने सिजनको अन्त्य सम्मका लागि सर्न प्रस्ताव गरेका छन्।

कम्तीमा एक सिजन युरोपमै खेल्नको लागि मेस्सीले एक वर्ष कुर्न साउदी क्लब अल हिलाललाई आग्रह गरेको विभिन्न खेल मिडियाहरुले दावी गरेका छन्। फुटबल आधारित मिडिया ‘गोल’का अनुसार मेस्सीले आफ्नो ट्रान्सफर सन् २०२४ सम्मका लागि सार्न अल हिलाललाई आग्रह गरेका छन्।

मेस्सीको टोलीले सोमबार साउदी प्रतिनिधिमण्डलसँग भेटघाट गरेको र त्यसक्रममा ट्रान्सफर सन् २०२४ सम्मका लागि सार्न आग्रह गरेको गोलले दावी गरेको छ। मेस्सीको सो आग्रहले साउदी पक्ष अचम्मित भएको बताइएको छ। ट्रान्सफर सारेको खण्डमा मेस्सीलाई अल हिलालले अहिलेको जति पारिश्रमिक भने पक्कै दिने छैन।

अहिले अल हिलाल मेस्सीलाई वार्षिक ५ सय मिलियन युरो सम्म पारिश्रमिक दिन तयार छ। तर अर्को सिजन भने सो बराबरको पारिश्रमिक सहितको प्रस्ताव अल हिलालले गर्नेछैन। सो बारे अल हिलाल पक्षले मेस्सी पक्षलाई स्पष्ट गराइसकेको छ।

मेस्सीले ट्रान्सफर सार्न आग्रह गरेको खबर उनको बुबा जर्ज मेस्सीले बार्सिलोना अध्यक्ष जोआन लापोर्टासँग भेटघाट गरेपछि बाहिर आएको हो। सोमबार मात्रै मेस्सीका पिताले बार्सिलोना अध्यक्षसँग भेटघाट गरेका थिए। सो भेटघाट सकारात्मक गएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *