June 22, 2024

एजेन्सी – क्रिष्टियानो रोनाल्डोलाई आफ्नो रोस्टरमा समावेश गर्ने क्लब अल-नासरले रियल म्याड्रिडका लिजेन्ड जिनेदिन जिदानलाई क्लबको प्रशिक्षकको रुपमा भित्र्याउने तयारी सुरु गरेको छ। विभिन्न साउदी तथा स्पेनिस मिडियाहरुका अनुसार अल नासरले जिदानलाई भित्र्याउने योजना बनाएको हो।

अल नासरले जिदानलाई छिट्टै क्लबमा भित्र्याउन चाहेको छ। त्यसको लागि क्लबले छिट्टै नै जिदानलाई प्रस्ताव पठाउने छ। अल नासर जिदानलाई विश्वको सबै भन्दा बढी पारिश्रमिक लिने प्रशिक्षक बनाउन चाहन्छ। मिडिया रिपोर्टहरुका अनुसार अल नासर जिदानलाई ५० मिलियन युरो भन्दा बढी पारिश्रमिक दिन तयार छ।

जिदान विश्वको सबैभन्दा प्रसिद्ध व्यवस्थापकीय प्रतिभा मध्ये एक रहेका छन्। पहिलो पटक रियल म्याड्रिडको प्रशिक्षक हुँदा नै उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्। त्यसबेला उनले लगातार तीन पटक च्याम्पियन्स लिग जितेका थिए।

रियल म्याड्रिडमा हुँदा जिदान र रोनाल्डोले सँगै रहेर काम गरेका थिए। रियललाई सफलता दिलाएका कारणले गर्दा नै रोनाल्डोले क्लबलाई जिदान भित्र्याउन दबाब दिरहेको बताइएको छ। जिदानले सन् २०२१ मा रियल म्याड्रिड छाडेका थिए। त्यसयता उनी खालि नै छन्।

उनलाई विभिन्न क्लब तथा देशहरुबाट प्रशिक्षक बन्न प्रस्ताव आएपनि उनले कुनै प्रस्ताव स्वीकार भने गरेनन्। तर अब अल नासरले उच्च पारिश्रमिक सहितको प्रस्ताव पेश गरेपछि भने उनले के निर्णय लिन्छन् भन्ने कुरा समयले नै बताउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *