June 16, 2024

एजेन्सी – बार्सिलोनाका पूर्व स्ट्राइकर लुइस सुआरेजले आफ्ना नजिकका साथी लियोनल मेस्सीसँग इन्टर मियामीमा सामेल हुने सम्भावनालाई अस्वीकार गरेका छन्। एक अन्तर्वार्ताका क्रममा सुआरेजले मेस्सीसँगै खेल्न मियामी जाने सम्भावना नरहेको स्पष्ट पारेका हुन्।

पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर मेस्सीले इन्टर मियामी जाने निर्णय गरिसकेका छन्। बार्सिलोनामा रहन नमिल्ने अवस्था देखेपछि अन्य युरोपेली क्लबमा नजाने निर्णय गर्दै मेस्सीले अमेरिका जाने निर्णय गरेका हुन्। उनी मियामी जाने भएपछि सुआरेज पनि अमेरिका जाने खबर बाहिर आएको थियो।

तर सुआरेजले भने सबै चर्चाहरुलाई खारेज गरिदिएका छन्। सुआरेजका अनुसार उनी अमेरिका जाने कुनै सम्भावना छैन र उनी ब्राजिलमै सन्तुष्ट छन्। सुआरेजले ग्रेमियोलाई रेकोपा गाउचा र क्याम्पियोनाटो गाउचो जिताउन मद्दत गरेका छन्।

ब्राजिलियन क्लबका लागि उनले २४ खेलमा ११ गोल गरिसकेका छन्। सुआरेज जनवरीमा ब्राजिलियन सिरी ए पक्ष ग्रेमियोमा सामेल भएका थिए। हालसालै एक अन्तर्वार्ताका क्रममा उनले आफू ब्राजिलमा सन्तुष्ट रहेको र आफ्नो सम्झौता सन् २०२४ सम्मका लागि रहेको बताए।

“यो गलत हो, यो असम्भव छ। म ग्रेमियोमा धेरै खुसी छु र मसँग २०२४ सम्मको सम्झौता छ।”,मेस्सीसँग खेल्न मियामी जाने चर्चाहरुलाई खारेज गर्दै सुआरेजले भने। मेस्सी र सुआरेजले बार्सिलोनामा लामो समय सँगै खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *