June 17, 2024

एजेन्सी – च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटी र इन्टर मिलान आज राति भिड्दै छन्। सिटी पहिलो च्याम्पियन्स लिग उपाधिका लागि मैदानमा उत्रिन लागेको हो भने इन्टर चौंथो उपाधि जित्ने योजनामा छ।

दुवै टोली आज एक अर्कालाई पराजित गरेर उपाधि जित्ने दाउमा हुनेछ। आजको खेलमा सबैको नजर नर्वेली युवा स्टार एर्लिङ हालाण्डमा हुनेछ। सन् २०२२-२३ को सिजन भर हालाण्डले उच्च संख्यामा गोल गरेका छन्।

प्रिमियर लिगको गोल्डेन बुट जितिसकेका हालाण्ड च्याम्पियन्स लिगको पनि शिर्ष गोलकर्ता हुन्। हालाण्डले च्याम्पियन्स लिगको जारी सिजनमा १२ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगका १० खेलमा यो संख्यामा गोल गरेका हुन् र उनको नाममा १ असिस्ट पनि छ।

तर पछिल्लो समय हालाण्ड गोल खडेरीबाट पनि गुज्रिरहेका छन्। हालाण्डले सिटीका लागि पछिल्ला पाँच खेलमा गोल गर्न सकेका छैनन्। मे महिनामा एभर्टन विरुद्धको खेलमा गोल गरेपश्चातका पाँच खेलमा हालाण्डले गोल गरेका छैनन्।

हालाण्ड पक्कै पनि इन्टर मिलान विरुद्ध गोल गर्दै सिजनको सुखद अन्त्य गर्ने दाउमा हुनेछन्। इन्टर मिलान विरुद्ध गोल गर्दै सिटीलाई च्याम्पियन्स लिग दिलाउन मद्दत गर्ने सूवर्ण अवसर हालाण्डसँग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *