June 17, 2024

एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेर च्याम्पियन्स लिग जितेसँगै म्यानचेस्टर सिटीको ट्रेबल पूरा भएको छ। यस अगाडी प्रिमियर लिग र एफए कप जितिसकेको सिटीले च्याम्पियन्स लिग जित्दै शनिबार राति विश्व फुटबलमा निकै कठिन मानिने ट्रेबल पूरा गर्न सफल भएको हो।

सिटीले प्रिमियर लिग जित्न आर्सनलको कडा प्रतिष्पर्धालाई पार गरेको सिजन। सिजनको अधिकांश समय आर्सनल भन्दा पछि रहेर पनि सिटीले सिजनको अन्त्यमा प्रिमियर लिग उपाधि जित्न सक्यो। त्यस्तै एफए कप जित्न सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको थियो।

च्याम्पियन्स लिग जितेसंगै सिटी ट्रेबल पूरा गर्ने दोस्रो बेलायती क्लब बन्न पुगेको छ। यस अगाडी म्यानचेस्टर युनाइटेडले सन् १९९८-१९९९ को सिजनमा ट्रेबल पूरा गरेको थियो। यहाँ अहिले हामी डोमेस्टिक ट्रेबल नभई कन्टिनेन्टल ट्रेबलको कुरा गरिरहेका छौँ।

अहिले सम्म युरोपका आठ टोलीले मात्रै ट्रेबल पूरा गरेका छन्। प्रिमियर लिगबाट सिटी र युनाइटेडले ट्रेबल पूरा गर्दा लालिगाबाट बार्सिलोनाले मात्रै ट्रेबल पूरा गरेको छ। बार्सिलोनाले सन् २००८-२००९ र २०१४-१५ को सिजन गरी २ पटक ट्रेबल पूरा गरेको छ।

बार्सिलोना जस्तै जर्मन क्लब बायर्न म्युनिखले पनि दुई पटक ट्रेबल पूरा गरेको छ। सन् २०१२-१३ र २०१९-२० को सिजनमा बायर्नले ट्रेबल पूरा गरेको थियो। त्यस्तै डच क्लब आयक्सले एक पटक ट्रेबल पूरा गरेको छ। आयक्सले सन् १९७१-७२ को सिजनमा ट्रेबल पूरा गरेको थियो। नेदरल्याण्डकै अर्को क्लब पीएसभीले १९८७-८८ को सिजनमा ट्रेबल पूरा गर्न सफल भएको थियो।

ट्रेबल पूरा गर्ने क्लबको सूचीमा स्कटिस क्लब सेल्टिक पनि रहेको छ। सेल्टिकले सन् १९६६-६७ को सिजनमा ट्रेबल पूरा गरेको थियो। इटालियन क्लब इन्टर मिलानले सन् २०१०-११ को सिजनमा ट्रेबल पूरा गर्न सफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *