June 22, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार साउदी अरेबियन क्लब अल हिलालले ब्राजिलियन स्टार नेयमारलाई भित्र्याउने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार अल हिलालले नेयमारलाई समर ट्रान्सफर विन्डोको मूख्य टार्गेट बनाउने भएको हो।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अमेरिका जाने निर्णय गरेसंगै अल हिलालको योजनामा नेयमार परेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। अब अल हिलालले नेयमारलाई उच्च पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गर्ने योजना बनाएको बताइएको छ।

यस अगाडी अल हिलाल मेस्सी भित्र्याउन इच्छुक थियो। त्यसको लागि अल हिलाल डटेर लागेको थियो। अल हिलालले मेस्सीलाई गत अप्रिलमा ४ सय मिलियन युरो पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको थियो। सो प्रस्ताव मेस्सीले स्वीकार नगरेपछि अल हिलालले ५ सय मिलियन युरो पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको थियो।

तर पनि मेस्सीले अल हिलालको सम्झौता स्वीकार गरेनन्। उनले अल हिलालको सम्झौता रिजेक्ट गर्दै अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध हुने निर्णय गरे। मेस्सीले प्रस्ताव अस्विकार गरेपछि अल हिलालको ध्यान नेयमारमा केन्द्रित भएको सीबीएस स्पोर्ट्सले जनाएको छ।

सीबीएस स्पोर्ट्सका अनुसार अल-हिलालले नेयमारको टोलीसँग सम्भावित सम्झौताको लागि कुराकानी गर्न एक टोलीलाई शुक्रबार पेरिस पठाएको थियो। रिपोर्टमा भनिएको छ कि क्रिस्टियानो रोनाल्डोलाई डिसेम्बरमा अल-नासरमा हस्तान्तरण गरिएको जस्तै सम्झौता नेयमारलाई दिन अल हिलाल इच्छुक रहेको छ। रोनाल्डोले अल नासरमा २ सय मिलियन युरो भन्दा बढी पारिश्रमिक पाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *