June 22, 2024

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा नेपालले जित निकालेको छ। विश्वकप छनोट अगाडीको तेस्रो अभ्यास खेलमा नेपालले ओमान विरुद्ध जित निकालेको हो। जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालले ४४.५ ओभरमा लक्ष्य पूरा गर्दा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १ रन बनाए। ओपनर कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्कासहित १ सय १ रन सहितको सानदार इनिङ खेलेका थिए।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले १ सय १५ रनको साझेदारी गरेका थिए। भीम सार्कीले ७४ बलमा ९ चौकासहित ५६ रन बनाएका थिए। ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। आसिफ २४ बलमा २३ रनमा आउट हुन पुगेका थिए।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९.२ ओभरमा २ सय ६७ रनमा अल आउट भएको थियो। ओमान कप्तान जिशान मकसुदले शतक प्रहार गरेपछि ओमानले सम्मानजनक लक्ष्य दिएको थियो।

मकसुदले १ सय ६ बलमा १५ चौका र १ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेल्न सफल भएका थिए। सोमपाल कामीले ९.२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर ५ विकेट लिन सफल भएका थिए। नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिन सफल भए।

करण केसीले ६ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिँदा प्रतिश जि.सीले ५ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *