June 17, 2024

एजेन्सी – नेपाली क्रिकेट टोलीका बलर करण केसी आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्धको खेलको उत्कृष्ट खेलाडी घोषित भएका छन्। मंगलबार नेपाल विजयी भएको खेलको उत्कृष्ट खेलाडी केसी घोषित भएका हुन्।

अमेरिकालाई सस्तैमा समेट्न केसीले महत्वपूर्ण भूमिका निभाएका थिए। अमेरिका विरुद्ध सर्वाधिक विकेट लिएका केसीले किफायती बलिङ गरेका गरेका थिए। उनले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिन सफल भए।

ओपनर तथा प्रमुख ब्याटर स्टिभ टेलरलाई ४, साइतेजा मुकामल्लालाई डक, आरोन जोन्सलाई दुई र नोष्तुश केन्जिगेलाई १ रनमा आउट गरेका केसीले ७ ओभरमा ३ मेडनसहित ११ रन मात्र खर्चेका थिए।

तर बाँकी दुई ओभरमा भने उनले २२ रन खर्च गरे। जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा अल आउट हुँदै २ सय ७ रन समेटिएको थियो। नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ८ रनको लक्ष्य पूरा गर्न सफल भयो।

नेपालको जितमा भीम सार्कीले सर्वाधिक १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रन जोडे। उनी नटआउट पनि रहे। नेपालले अब बिहिबार वेस्टइन्डिज विरुद्ध तेस्रो खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *