June 22, 2024

एजेन्सी – लिभरपुल लेजेण्ड रोबर्टो फर्मिनोले नयाँ क्लब भेट्टाएका छन्। लामो समय पछि लिभरपुल छाड्ने निर्णय गरिसकेका फर्मिनोले नयाँ क्लब भेट्टाएका हुन्। फर्मिनो साउदी प्रो लिग जाने तय भएको छ।

साउदी प्रो लिग क्लब अल अहली जान फर्मिनो सहमत भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। आठ वर्ष पछि लिभरपुल छाडेका फर्मिनोलाई अल अहलीले ३ वर्षको लागि भित्र्याउन लागेको बताइएको छ।

फर्मिनो सन् २०१५ मा लिभरपुल पुगेका थिए। निरन्तर आठ वर्ष लिभरपुलबाट फुटबल खेलेका उनले क्लब फुटबलमा सबै उपाधि जित्न सफल भएका थिए। लिभरपुलका लागि उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, युइएफए सुपर कप, क्लब विश्वकप, एफए कप, कराबाओ कप, कम्युनिटी शिल्ड जस्ता उपाधि जित्न सफल भएका थिए।

फर्मिनो मोहम्मद सलाह र साडियो माने सहितको घातक ट्रियोको हिस्सा थिए। तीन खेलाडीले कुनै एक समयमा युरोपेली फुटबलमा तहल्का मच्चाएका थिए। लिभरपुलबाट बिदा भएपछि अल अहलीले फर्मिनोलाई सम्पर्क गरेको थियो। अल अहलीको प्रस्ताव फर्मिनोले स्वीकार गरिसकेको बताइएको छ।

अल अहलीले फर्मिनोको छिट्टै मेडिकल गर्नेछ। मेडिकल राम्रै गएको खण्डमा दुई पक्ष बीच छिट्टै सम्झौता हुनेछ। दुई पक्ष बीच सन् २०२६ सम्मका लागि सम्झौता हुने तयारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *