June 25, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले जब पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरे। धेरैले उनी बार्सिलोना हुने अनुमान लगाएका थिए। पिएसजीसँगको सम्झौता थप नगर्ने मेस्सीको निर्णयपछि बार्सिलोनाले उनलाई फिर्ता लैजान प्रयास पनि गर्यो।

तर बार्सिलोनाको प्रयास सफल हुन भने सकेन। फुटबल करियरमा सबै उपाधि जितिसकेका मेस्सीले युरोप छाडेर अन्यत्र खेल्ने निर्णय गरेसंगै उनलाई फिर्ता गर्ने बार्सिलोनाको योजना असफल भएको हो। आर्थिक संकटका कारण बार्सिलोनाले मेस्सी फिर्ता लैजान लगभग असम्भव जस्तै थियो।

मेस्सीले युरोप छाडेर जाने र अमेरिकी क्लब इन्टर मियामीबाट खेल्ने निर्णय गर्दा धेरै छक्क परेका थिए। यसैबीच बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले बार्सिलोना मेस्सीको घर रहेको र उनलाई सधैं स्वागत गरिने बताएका छन्।

एक अन्तर्वार्ताका क्रममा मेस्सी कहिले स्पेन फर्किएलान् भनेर प्रश्न गरिँदा लापोर्टाले मेस्सीलाई विशेष सम्मान दिइने बताए। स्पोटिफाई क्याम्प नोउ को उद्घाटनको दिन मेस्सीलाई ट्रिब्युट दिइने लापोर्टाले बताए।

“बार्सा सधैं उनको घर हुनेछ। मेस्सीलाई ट्रिब्युट दिने हाम्रो योजना छ। स्पोटिफाई क्याम्प नोउ को उद्घाटन दिन एक उत्कृष्ट मिति हुन सक्छ।”,लापोर्टाले अन्तर्वार्ताका क्रममा भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *