June 14, 2024

एजेन्सी – च्याम्पियन्स लिगका लागि छनोट भएको प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेडले पोर्चुगिज युवा स्टार गोन्कालो रामोसलाई भित्र्याउन लागेको थाहा हुन आएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार न्यूक्यासलले यसै समर ट्रान्सफर विन्डोमा रामोसलाई भित्र्याउने योजना बनाएको हो।

फिफा विश्वकपको राउन्ड अफ १६ मा पोर्चुगिजले स्विट्जरल्यान्ड विरुद्ध ह्याट्रिक गरेका थिए। पोर्चुगलका लागि सो खेल उनको अन्तर्राष्ट्रिय डेब्यु थियो। उनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा डेब्यु गरेका थिए।  डेब्यु खेलमै ह्याट्रिक गरेका उनी पोर्चुगिज क्लब बेन्फिकाबाट खेल्छन्।

सन् २०२२-२३ को सिजनमा उनले बेन्फिकाका लागि कुल ४७ खेल खेलेका छन्। जसमा उनले २७ गोल गरेका छन् भने १२ असिस्ट प्रदान गरेका छन्। च्याम्पियन्स लिगका लागि बलियो टोली निर्माण गर्ने क्रममा रहेको न्यूक्यासलले रामोसलाई भित्र्याउन चाहेको बताइन्छ।

खबरका अनुसार न्यूक्यासलले रामोसका लागि ८० मिलियन युरो सम्म खर्च गर्न सक्छ। रामोस भित्र्याउने दौडमा न्यूक्यासल एक्लो भने छैन। युरोपका अन्य ठूला क्लबले पनि रामोसलाई नजिकबाट नियालिरहेका छन्। रामोसलाई नजिकबाट नियाल्ने क्लबहरुमा म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *