June 17, 2024

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) बीचको सम्बन्ध दिनप्रतिदिन जटिल बन्दैछ। पिएसजी एम्बाप्पेलाई कुनै पनि हालतमा यहि समर ट्रान्सफर विन्डोमा बिक्री गर्न चाहन्छ भने एम्बाप्पे एक सिजन पिएसजीमै रहने पक्षमा छन्।

पिएसजी र खेलाडी बीचको सम्बन्धमा दरार उत्पन्न भएको पछिल्ला दिनहरुमा स्पष्ट भएका छन्। एम्बाप्पेले केहि दिन अगाडी मात्रै पिएसजीमा रहेर आफ्नो करियरलाई खासै राम्रो लाभ नमिलेको संकेत गरेका थिए। उनले पिएसजी विभाजित टोली पनि बताएका थिए।

उनको सो भनाईसँगै पिएसजीका उच्च अधिकारीहरु र समर्थकहरु थप रुष्ट बनेका छन्। यसै बीच क्रिष्टियानो रोनाल्डोको अल-नासर विरुद्ध सामना गर्नु अगाडीको पोस्टरबाट एम्बाप्पेलाई हटाइएको छ।

पिएसजीले जुलाई २५ मा अल नासरको सामना गर्दैछ। त्यसअगाडी सार्वजनिक भएको पिएसजीको पोस्टरमा एम्बाप्पे देखिँदैनन्। पहिलो पोस्टरमा एम्बाप्पे देखिएको भएपनि दोस्रो सार्वजनिक पोस्टरमा भने एम्बाप्पे छैनन्।

विभिन्न स्पेनिस मिडियाहरुका अनुसार एम्बाप्पे १७ जुलाईबाट पिएसजीको प्रशिक्षणमा सहभागी हुनेछन्। ढिला प्रशिक्षणमा सहभागी हुँदा जुलाई २५ सम्म एम्बाप्पे खेल्नको लागि फिट नहुने हुँदा उनलाई अल नासरको सामना गर्ने टोलीबाट हटाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *