June 14, 2024

एजेन्सी – प्रिमियर लिग लिभरपुलका कप्तान जोर्डन हेन्डरसन पनि साउदी पुग्ने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार लामो समय देखि लिभरपुलमा रहेका जोर्डन हेन्डरसन साउदी पुग्ने अवस्था बनेको हो।

जोर्डन हेन्डरसनलाई साउदी क्लब अल-एत्तिफाकले भित्र्याउन चाहेको खबर बिहिबार मात्रै बाहिरिएको छ। लिभरपुलका पूर्व खेलाडी स्टेभेन जेरार्डलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेपछि अल-एत्तिफाकले हेन्डरसनलाई भित्र्याउन चाहेको विभिन्न बेलायती मिडियाहरुले जनाएका छन्।

यो खबरमा ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। उनका अनुसार खेलाडी र क्लब बीच एक प्रकारको सहमति पनि भइसकेको छ। हेन्डरसनले साउदी पक्षलाई ग्रिन सिग्नल दिसकेको बताइन्छ।

यसैबीच बेलायतबाट आएको खबरका अनुसार लिभरपुल पनि हेन्डरसनलाई बिक्री गर्न इच्छुक देखिएको छ। तर लिभरपुल हेन्डरसनलाई सित्तैमा गुमाउन भने चाहँदैन। लिभरपुलले हेन्डरसनका लागि २० मिलियन युरो माग गर्ने योजना बनाएको जनाइएको छ।

हेन्डरसनले साउदीमा उच्च पारिश्रमिक पाउने सम्भावना छ। उनले त्यहाँ ३० देखि ४० मिलियन युरो सम्मको वार्षिक पारिश्रमिक पाउन सक्ने खबरहरु बाहिर आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *