June 14, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले स्पेनिस क्लब रियल म्याड्रिड बाहेक अन्य कुनै पनि क्लबमा नजाने निर्णय गरेका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले विभिन्न क्लबहरुबाट प्रस्ताव सुन्ने योजना बनाएको भएपनि एम्बाप्पेले भने रियल बाहेक अन्यत्र कतै नजाने निर्णय गरेका हुन्।

एम्बाप्पेले पिएसजीसँगको सम्झौता सन् २०२४ पछि थप नगर्ने स्पष्ट पारिसकेका छन्। एम्बाप्पे र पिएसजी बीचको सम्झौतामा एक वर्ष थप गर्ने विकल्प रहेपनि त्यसमा एम्बाप्पे सहमत छैनन्।

एम्बाप्पेले गत महिना सन् २०२४ पछि आफूले सम्झौता थप नगर्ने स्पष्ट पार्दै क्लबलाई पत्र पठाएका थिए। एम्बाप्पेले आफूहरुलाई धोका दिएको र सित्तैमा रियल म्याड्रिड जान खोजेको निष्कर्ष सहित पिएसजीले एम्बाप्पेलाई बिक्रीमा राखेको छ।

एम्बाप्पेका लागि विभिन्न क्लबहरुले पिएसजीलाई सम्पर्क गरेका छन्। त्यसमा साउदी क्लब अल हिलाल पनि रहेको छ। अल हिलाल एम्बाप्पेका लागि मन खोलेर खर्च गर्ने पक्षमा देखिएका छन्।

अल हिलाल एम्बाप्पेका लागि ३ सय मिलियन युरो ट्रान्सफर रकम तिर्न तयार छ। जसलाई स्वीकार गर्ने योजनामा पिएसजी छ। त्यस्तै अल हिलालले एम्बाप्पेलाई ७ सय मिलियन युरो बराबर पारिश्रमिक प्रस्ताव गरेको बताइन्छ। तर सो प्रस्तावलाई एम्बाप्पेले रिजेक्ट गरेको विभिन्न खेल मिडियाहरुले दावी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *