June 25, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले पोर्चुगिज क्लब बेन्फिकाका युवा फरवार्ड भित्र्याउने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजीले बेन्फिकाआ पोर्चुगिज स्टार गोन्कालो रामोसलाई भित्र्याउने भएको हो।

पेरिस सेन्ट जर्मेन गोन्कालो रामोसका लागि बेन्फिकासँग सम्झौता गर्ने अन्तिम अवस्थामा रहेको ट्रान्सफर बजार गुरु फाब्रिजियो रोमानोले जनाएका छन्। रोमानोका अनुसार रामोसका लागि बेन्फिका र पिएसजी बीच ८० मिलियन युरोको सम्झौता हुन सक्छ।

पिएसजी र बेन्फिका बीच रामोसका लागि मौखिक सहमति भइसकेको छ। अब दुई पक्ष बीच कागजी प्रक्रिया मात्रै बाँकी छ। ८० मिलियनको प्याकेजमा अड-अनहरु पनि हुनेछन्।

रामोसले पिएसजीसँग सन् २०२८ सम्मका लागि सम्झौता गर्ने बताइएको छ। योजना अनुसार सबै हुने हो भने यसै साता रामोसको मेडिकल परिक्षण सकिने रोमानोले जनाएका छन्।

फिफा विश्वकपको राउन्ड अफ १६ मा पोर्चुगिजले स्विट्जरल्यान्डको सामना गर्दा रामोसले ह्याट्रिक गरेका थिए। पोर्चुगलका लागि सो खेल उनको अन्तर्राष्ट्रिय डेब्यु थियो। उनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा डेब्यु गरेका थिए।

सन् २०२२-२३ को सिजनमा उनले बेन्फिकाका लागि कुल ४७ खेल खेलेका छन्। जसमा उनले २७ गोल गरेका छन् भने १२ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *