June 16, 2024

एजेन्सी – प्रख्यात ब्राजिलियन एजेन्ट आन्द्रे क्यूरीले ब्राजिलियन स्टार नेयमार पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि “अमूल्य” रहेको दावी गरेका छन्। एक अन्तर्वार्ताक क्रममा क्यूरीले नेयमार पिएसजीका लागि अमूल्य रहेको दावी गरेका हुन्।

आन्द्रे क्यूरीका अनुसार नेयमारको ट्रान्सफर पिएसजीमा हुन सक्ने सबै भन्दा राम्रो ट्रान्सफर थियो। नेयमारको ट्रान्सफरले नै अन्य खेलाडीहरुको ट्रान्सफरका लागि ढोका खोलेको क्यूरीको दावी छ।

नेयमार पिएसजी पुगेपछि नै लियोनेल मेस्सी, केलियन एमबाप्पे जस्ता ठूला स्टारको ट्रान्सफर सम्भव भएको उनले बताए। नेयमारको आगमन पछि पिएसजीलाई मार्केटिङमा ठूलो लाभ मिलेको दावी क्यूरीले गरे।

“नेयमारले पीएसजीलाई दिएको सबै कुरा अमूल्य छ। उनी क्लबको इतिहासमा सबैभन्दा सस्तो खेलाडी हुन् किनभने उनले पेरिसलाई मार्केटिङमा जे दिए त्यो अविश्वसनीय छ। नेयमारको आगमन पछि नै मेस्सी, एमबाप्पे र अन्य स्टारहरु त्यहाँ पुगे।”,क्यूरीले भने।

नेयमार सन् २०१७ मा क्याटलान क्लब बार्सिलोनाबाट पिएसजी पुगेका थिए। उनका लागि पिएसजीले इतिहाँसकै उच्च रकम खर्च गरेको थियो। पिएसजीले नेयमारका लागि २ सय २० मिलियन युरो खर्च गरेको थियो। पछि एम्बाप्पे पनि पिएसजी पुगेका थिए। सन् २०२१ मा मेस्सी समेत पिएसजीमा आवद्ध भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *