June 14, 2024

एजेन्सी – ला मासियाका स्टार लामाइन यामलले सबैलाई चकित पारेका छन्। बार्सिलोनाको सिनियर टोलीमा सेटल हुने क्रममा रहेका ला मासियाका उत्पादन यामलले सोमबार राति टोटेनह्याम विरुद्धको खेलमा उच्च प्रदर्शन गर्दै सबैलाई चकित पारेका हुन्।

मात्रै १६ वर्षका यामललाई टोटेनह्याम विरुद्धको खेलमा ८० औं मिनेटमा मैदान प्रवेश गराइएको थियो। यामलले एरिक ग्रासियाको स्थानमा मैदान प्रवेश गर्न पाएका थिए। उनी प्रवेश गर्दा टोटेनह्याम २-१ को गोल अन्तरले अगाडी थियो।

उनी मैदान प्रवेश गरेको एक मिनेट भन्दा कम समयमै बार्सिलोनाले बराबरी गोल फर्कायो। सो गोल उनकै पासमा सम्भव भएको थियो। खेलको ८१ औं मिनेटमा उनले दिएको उत्कृष्ट पासमा फेरान टोरेसले बराबरी गोल फर्काएका थिए।

त्यसपछि पनि यामलले उत्कृष्ट प्रदर्शनलाई जारी राखेका थिए। ९० औं र इन्ज्युरी समय पछि थप गरिएको तेस्रो मिनेटमा भएका गोल पनि यामलको उच्च प्रदर्शनका लागि सम्भव भएका थिए। टोटेनह्याम विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि यति बेला उनी चर्चाको केन्द्रमा छन्।

उनलाई पिएसजी आवद्ध हुने क्रममा रहेका उस्माने डेम्बेलेको स्थान लिने खेलाडीको रुपमा हेरिएको छ। उनले यस्तो प्रदर्शनलाई जारी राखे पक्कै पनि डेम्बेलेको अभाव बार्सिलोनामा खड्किने छैन।

यामलको प्रदर्शनलाई सन् २००५ मा जोन ग्याम्पर ट्रफीमा लियोनेल मेस्सीले गरेको उत्कृष्ट प्रदर्शनपछिको उत्कृष्ट प्रदर्शनको रूपमा वर्णन गरिएको छ। उनलाई यति बेला सामाजिक संजालमा धेरैले ‘नयाँ मेस्सी’को संज्ञा दिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *