June 25, 2024

एजेन्सी – विश्वकप विजेता रोड्रिगो डी पलले साउदी अरेबिया नजाने निर्णय गरेका छन्। स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी मिडफिल्डरले क्लबका प्रशिक्षकसंगको छलफल पश्चात साउदी अरेबिया नजाने निर्णय गरेका हुन्।

साउदी क्लब अल अहलीले डी पललाई भित्र्याउन चाहेको थियो। सोमबार सो क्लबले एट्लेटिकोलाई आधिकारिक प्रस्ताव समेत पठाएको थियो। अल अहली अर्जेन्टिनी खेलाडीका लागि ३२ मिलियन युरो तिर्न तयार रहेको बताइएपनि डी पलले भने स्पेनमै रहने निर्णय गरेका छन्।

क्लबका प्रशिक्षक डिएगो सिमोनीसंगको छलफल पश्चात उनले एट्लेटिकोमै रहने निर्णय गरेको ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले जनाएका छन्।

कतारमा भएको फिफा विश्वकपमा अर्जेन्टिनाको सफलतामा डी पलले महत्वपूर्ण भूमिका निभाएका थिए। गत सिजन उनले एट्लेटिको म्याड्रिडका लागि कुल ३८ खेल खेल्दा ३ गोल गरेका थिए। साथै उनको नाममा ८ असिस्ट पनि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *