June 16, 2024

एजेन्सी – गत सिजनको ट्रेबल विजेता म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ। प्रिमियर लिगका सुरुवाती तीन खेलमा लगातार जित निकाल्दै सिटी शिर्ष स्थानमा उक्लिएको हो।

सिटीले आइतबार नवप्रवेशी शेफिल्ड युनाइटेडलाई उसकै घरेलु मैदानमा पराजित गर्यो। बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमण गरेको सिटीले दोस्रो हाफमा दुई गोल गर्दै घरेलु टोलीलाई २-१ को गोल अन्तरले पराजित गर्न सफल भयो।

सिटीले खेलभर बलमा कुल ८० प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर सिटीको तर्फबाट कुल ३० प्रहार भएका थिए। जसमद्ये ९ प्रहार टार्गेटमा थिए। तर मात्रै दुई प्रहार गोलमा परिणत भए।

त्यस्तै शेफिल्डले भने खेलभर मात्र ६ प्रहार गरेको थियो। त्यसमध्ये २ प्रहार टार्गेटमा हुँदा एक प्रहार गोलमा परिणत भयो। सिटीका लागि एर्लिङ हालाण्ड र रोड्रीले गोल गर्दै शेफिल्डका लागि जेडेन बोग्लेले गोल गरे।

पहिलो हाफमा सिटीले पेनाल्टी मार्फत अग्रता लिने अवसर पाएको थियो। तर हालाण्ड पेनाल्टीमा चुके। पछि उनले नै खेलको ६३ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्काए पनि ८८ औं मिनेटमा रोड्रीले निर्णायक गोल गरे।

यस जितसंगै सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ। सिटीले नयाँ सिजनमा तीन मध्ये तीनै खेलमा जित निकालेको छ। पराजित शेफिल्ड भने प्रिमियर लिगको १७ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *