June 25, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई झड्का लागेको छ। क्लबका महत्वपूर्ण खेलाडी घाइते भएसंगै रियलाई झड्का लागेको हो। क्लबका महत्वपूर्ण खेलाडीको रुपमा रहेका ब्राजिलियन स्टार भिनिसियस जुनियर घाइते हुन पुगेका छन्।

भिनिसियस लालिगा अन्तर्गत सिजनको तेस्रो खेलमा सेल्टा भिगोको सामना गर्नेक्रममा घाइते भएका हुन्। खेलको १३ औं मिनेटमा उनलाई चोट लागेको थियो। चोट बोकेरै केहि मिनेट खेलेपनि उनलाई खेलको १८ औं मिनेटमा मैदानबाट फिर्ता बोलाइएको थियो।

पहिला भिनिसियसको चोट सामान्य भनिएपनि अहिले आएर उनले कम्तीमा एक महिना गुमाउने थाहा हुन लागेको छ। चोटका कारण भिनिसियसले ४ देखि ६ साता सम्म गुमाउन सक्ने द एथलेटिकले जनाएको छ।

रियल म्याड्रिडको एक विज्ञप्तिमा भनिएको छ,”रियल म्याड्रिड मेडिकल सर्भिसेस द्वारा भिनी जुनियरमा गरिएको परीक्षण पछि, खेलाडीको दाहिने बाइसेप्स फेमोरिस मांसपेशीमा चोट लागेको पाइएको छ। उनको प्रगति अनुगमन गरिनेछ।”

विङ्गरले ला लिगामा गेटाफे, रियल सोसिडाड र एट्लेटिको म्याड्रिड विरुद्धको खेलका साथै च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने उच्च सम्भावना छ। उनी सेप्टेम्बरको अन्तर्राष्ट्रिय ब्रेकका लागि ब्राजिलको टोलीबाट बाहिर हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *