June 22, 2024

एजेन्सी – एटलेटिको म्याड्रिडले लालिगाको नयाँ सिजनको तेस्रो खेलमा गोलवर्षा गरेको छ। सिजनको दोस्रो जित निकाल्ने क्रममा एटलेटिकोले रायो भल्लेकानो सोमबार राति गोलवर्षा गरेको हो।

एटलेटिकोले रायो भल्लेकानोलाई उसकै घरेलु मैदानमा नराम्रो हार चखायो। रायो भल्लेकानो एटलेटिकोसंग ७-० को गोल अन्तरले पराजित भयो। एटलेटिकोका लागि कुल ६ खेलाडीले गोल गरे।

एन्टोनी ग्रीजम्यान, मेम्फिस डिपे, नहुएल मोलिना, एन्जल कोरिया र मार्कस लिओरेन्टेले एक-एक गोल गर्दा अल्भारो मोराटाले दुई गोल गोल गर्न सफल भए। खेलमा भएका सात मद्ये ३ गोल पहिलो हाफ र बाँकी चार गोल दोस्रो हाफमा सम्भव भएका थिए।

बलमा कम नियन्त्रण राखेपनि एटलेटिकोले निरन्तर आक्रमण गर्यो। बलमा एटलेटिकोको मात्रै ४३ प्रतिशत नियन्त्रण थियो। तर खेलभर एटलेटिकोले कुल १७ प्रहार गर्यो, जसमधे ७ प्रहार टार्गेटमा थिए।

घरेलु टोलीले भने खेलभर कुल १२ प्रहार गर्यो। ती मद्ये ३ प्रहार टार्गेटमा भएपनि कुनै प्रहार गोलमा परिणत हुन सकेनन्। यस जितसंगै एटलेटिको दोस्रो स्थानमा उक्लिएको छ। अपराजित एटलेटिकोको २ जित र एक बराबरी सहित ७ अंक छ। पराजित भल्लेकानो भने दुई जित र एक हार सहित आठौँ स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *