June 14, 2024

एजेन्सी – अमेरिकी क्लब इन्टर मियामीले बिहिबार बिहान मेजर सकर लिगको जारी सिजनको २४ औं खेल खेल्दैछ। मियामीले सिजनको २४ औं खेलमा नाशभिलको सामना गर्न लागेको हो।

मियामी र नाशभिल बीचको खेल मियामीको घरेलु मैदानमा हुनेछ। निरन्तरको जित बिहिन यात्रा पछि गत खेलमा निकालेको जितलाई निरन्तरता दिने दाउ सहित मियामी बिहिबार बिहान एक्सनमा उत्रनेछ।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको आगमन पश्चात मियामीले कुनै पनि खेलमा पराजय भोग्न परेको छैन। १० खेल पश्चात मियामीले केहि दिन अगाडी न्यूयोर्क रेड्बुल्स विरुद्ध जित निकालेको थियो।

मियामीले मेजर सकर लिगको जारी सिजनमा २३ खेल खेल्दा मात्रै ६ खेलमा जित निकालेको छ। १४ हार र ३ बराबरी सहित २१ अंक बनाएर मियामी लिगको १४ औं स्थानमा छ।

उता नाशभिल भने अहिले लिगको सातौं स्थानमा छ। नाशभिलले सिजनका २५ खेल खेल्दा ११ खेलमा जित निकालेको छ। ९ हार र ५ बराबरी सहित नाशभिलले ३८ अंक बनाएको छ।

मेस्सी खेल्ने सम्भावना कति ?

निरन्तर ८ खेल खेलेपछि मेस्सीलाई गत खेलमा केहि आराम दिइएको थियो। न्यूयोर्क विरुद्ध मेस्सीले बेन्चबाट मेजर सकर लिग डेब्यू गरेका थिए। उनले सो खेलमा गोल गर्न पनि सफल भएका थिए।

गत खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेपनि बिहिबार भने मेस्सी सुरुवाती ११ मा हुन सक्छन्। खेल अगाडीको पत्रकार सम्मेलनमा क्लबका प्रशिक्षक टाटा मार्टिनोले मेस्सीलाई सुरुवाती ११ मा राख्न कुनै समस्या नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *