June 16, 2024

एजेन्सी – युरोपियन फुटबल फेडेरेसन (युइएफए)का अध्यक्ष एलेक्सान्डर सेफेरिनले साउदी प्रो लिगका क्लब च्याम्पियन्स लिगमा सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

फ्रेन्च डेली ला इक्विपसँग कुराकानी गर्ने क्रममा सेफेरिनले साउदी प्रो लिग क्लबले च्याम्पियन्स लिग खेल्ने हल्लालाई सिधै खारेज गरेका हुन्। च्याम्पियन्स लिगमा युरोपियन क्लब मात्र सहभागी हुने र साउदी क्लब सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

उनका अनुसार युरोप बाहिरका क्लब च्याम्पियन्स लिगमा सहभागी हुनको लागि नियम नै परिवर्तन गर्नुपर्ने हुन्छ। तर आफूहरु त्यस्तो कुनै तयारीमा नरहेको सेफेरिनले अन्तर्वार्ताका क्रममा बताए।

“मिडिया आउटलेटले हामीलाई न सोधी नै यसबारे कुरा गरे । केवल युरोपेली क्लबहरूले च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स लिगमा भाग लिन सक्छन्”,उनले स्पष्ट रुपमा भने।

केहि समय अगाडी केहि खेल मिडियाहरुमा साउदी प्रो लिग क्लबलाई च्याम्पियन्स लिगमा वाइल्डकार्डको रुपमा सहभागी दिन सकिने खबर आएका थिए। तर युइएफएको अन्तर्वार्तासंगै ती सबै खबरहरु खारेज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *