June 16, 2024

एजेन्सी – ट्रेबल विनर म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले आफू सपनामा बाँचिरहेको बताएका छन्। युइएफए प्लेयर अफ द इयर जितेपछि हालाण्डले आफू सपनामा बाँचिरहेको बताएका हुन्।

युइएफएको अवार्ड हात पारेपछि हालाण्डले आफ्नो बाल्यकालका सपना पूरा भएको र २२ वर्षको उमेरमै धेरै उपाधि जित्दा थप जित्न प्रेरित भएको बताए। हालको सफलतापछि आफू थप मिहिनेत गर्न तर्फ लाग्ने उनको भनाई छ।

“मलाई राम्रो लागिरहेको छ। मैले २२ वर्षको उमेरमा ट्रेबल जितें। म सपनामा बाँचिरहेको छु; यो मेरो सानो छँदाको सपना थियो। मेरो टोलीका साथीहरूसँग मिलेर यो गर्न सक्षम हुनु एउटा विशेष कुरा हो। यसले मलाई काम गरिरहन र अझ धेरै हासिल गर्न धेरै प्रेरणा दिन्छ।”,हालाण्डले भने।

हालाण्डले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी र आफ्नै क्लबका सहकर्मी केभिन डी ब्रुइनलाई पछि पार्दै युइएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका हुन्। उनले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए। उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *