June 22, 2024

काठमाडौँ – सक्रिय क्रिकेटबाट सन्यास लिएपछिको दुई वर्षमा पूर्वकप्तान पारस खड्का क्रिकेट हाँक्ने स्थानमा पुगेको छन्। क्रिकेटबाट सन्यास लिएको दुई वर्षपछि खड्का क्रिकेट हाँक्ने पदमा पुगेका हुन्।

शुक्रबार खड्का नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रादेशिक कार्यसमितिको अध्यक्षमा निर्वाचित भए। क्यान बागमती प्रदेशको अध्यक्ष भएसंगै अब खड्का सिधा प्रदेशको क्रिकेटसंग जोडिएका छन्।

त्यति मात्र होइन अब खड्कालाई क्यानको केन्द्रिय अध्यक्ष बन्न पनि बाटो खुलेको छ। खड्का आगामी समयमा क्यानको अध्यक्ष बन्ने गरी अगाडी बढ्न सक्छन्। पारस खड्काले आफ्नो नेतृत्व क्षमता विभिन्न पटक देखाइसकेका छन्।

खेलाडी र कप्ताको रुपमा राम्रो अनुभव बटुलेका उनले क्यान प्रतिबन्धित भएको बेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग समन्वय गरेर आफ्नो क्षमता प्रदर्शन गरेका थिए।

खड्कासंग क्रिकेटको राम्रो ज्ञान मात्र छैन, नेपाली क्रिकेटलाई बलियो र उत्कृष्ट बनाउने खाका पनि छ। खड्का घरेलु क्रिकेट संरचनालाई बलियो बनाउन ग्रास्टरूटदेखि नै मिहिनेत गर्नुपर्ने बताउने गर्छन्।

पारसको खेलाडी र कप्तानको रूपमा अन्तर्राष्ट्रिय छवि राम्रो छ। साथै क्रिकेट समर्थक माझ पनि उनको छुट्टै छवि छ। नेपाली समर्थक पक्कै पनि पारस खड्काले क्यान हाँकेको हेर्न चाहन्छन्। तर खड्का कसरी अगाडी बढ्छन् भन्ने कुरा भने समयले नै बताउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *