June 16, 2024

एजेन्सी – युवा स्टार किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सानदार जित निकालेको छ। पिएसजीले आइतबार राति फ्रेन्च लिग वान अन्तर्गतको खेलमा सानदार जित निकालेको हो।

आइतबार राति पिएसजीले लियोनले उसकै घरेलु मैदानमा ४-१ को गोल अन्तरले पराजित गर्यो। पिएसजीको जितमा एम्बाप्पेले दुई गोल गर्दा अच्राफ हाकिमी र मार्को एसेन्सियोले एक-एक गोल गरे। लियोनका लागि भने एक मात्र गोल कोरेन्टिन टोलिसोले गरे।

खेलको चौंथो मिनेटमै एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। खेलको २० औं मिनेटमा हाकिमीको गोलबाट पिएसजीको अग्रता दोब्बर भयो। त्यस्तै खेलको ३८ औं मिनेटमा पिएसजीले तेस्रो गोल गर्यो। सो गोल एसेन्सियोले गरेका थिए।

पहिलो हाफमा थप भएको दोस्रो मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४-० को अग्रता दिलाए। पहिलो हाफमा चार गोल गरेपनि पिएसजीले दोस्रो हाफमा भने गोल थप्न सकेन। खेलको ७४ औं मिनेटमा लियोनका लागि टोलिसोले पेनाल्टीमा गोल गरे।

लियोन विरुद्धको खेलमा जित निकालेसंगै पिएसजी फ्रेन्च लिग वानको दोस्रो स्थानमा उक्लिएको छ। चार खेलमा २ जित र २ बराबरी सहित पिएसजी ले ८ अंक बनाएको छ। पराजित लियोन भने १ अंक जोडेर लिगको पुछारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *