June 22, 2024

एजेन्सी – यसै समर ट्रान्सफर विन्डोमा साउदी क्लब अल हिलाल पुगेका ब्राजिलियन स्टार नेयमारले पेरिसमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र आफूले धेरै नराम्रो अवस्थाबाट गुज्रनु परेको बताएका छन्।

एक मिडियासंगको कुराकानीका क्रममा नेयमारले पेरिस बसाईको स्मरण गर्दै कठीन अवस्थाबाट गुज्रनु परेको बताएका हुन्। पेरिसमा आफूहरुले नरकको बास जस्तो अनुभवबाट गुज्रनुपरेको बताए।

आफू मात्र नभई मेस्सीले पनि पेरिसमा कठीन अनुभवको सामना गर्नु परेको नेयमारको भनाई छ। अर्जेन्टिनाको राष्ट्रिय टोलीसँग स्वर्गीय आनन्द उठाए पनि मेस्सीले पेरिसमा भने नारकीय दुख भोगेको नेयमारले बताए।

“सफलताले भरिएको मेस्सीको वर्षको लागि म खुशी थिएँ, तर अर्को तर्फ म दुखि थिएँ। किनभने उनले पेरिसमा उनले नारकीय अनुभवबाट गुज्रनु पर्यो। हो हामी दुवैले त्यहाँ कठीन अवस्थाको सामना गर्यौं।”,नेयमारले भने।

मेस्सी र नेयमारका लागि पछिल्लो सिजन तनाव पूर्ण रह्यो। पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्न नसकेका कारण दुवै खेलाडीलाई पिएसजी समर्थकले निशाना बनाएका थिए। दुवै खेलाडीहरु विरुद्ध पिएसजी समर्थकले नाराबाजी गर्ने गरेका थिए।

जसकारण मेस्सीले पिएसजीसंगको सम्झौता नवीकरण गरेनन् र फ्री ट्रान्सफरमा इन्टर मियामी पुगे। नेयमार पनि यसै समर ट्रान्सफर विन्डोमा पिएसजी छाडेर साउदी क्लब अल हिलाल आवद्ध भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *