June 25, 2024

काठमाडौँ – एसिया कपको दोस्रो खेलमा आज नेपालले भारतको सामना गर्दैछ। श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा नेपालले भारतको सामना गर्न लागेको हो। आज जित्ने टोली एसिया कपको टप फोरमा पुग्नेछ।

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्न लागेको छ।

नेपाल र भारत बीचको खेल सुरु हुनु भन्दा अगाडी नै नेपालको राष्ट्रिय टोलीका लागि विभिन्न पुरस्कारको घोषणा भइरहेको छ। पुरस्कार घोषणाको दौडमा चर्चित पेमेन्ट गेटवे इसेवा पनि सहभागी हुने भएको छ।

इसेवाले भारतको सामना गर्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिँदै पुरस्कारको घोषणा गरेको हो। इसेवाले भारतका स्टार क्रिकेटर विराट कोहलीको विकेट लिने खेलाडीलाई २५ हजार नेपाली रुपैंयाँ दिने घोषणा गरेको छ।

नेपाली क्रिकेट टोलीबाट हाल्फ़ सेन्चुरी हान्ने खेलाडीलाई रु ५० हजार, पहिलो विकेट लिने खेलाडीलाई रु २५ हजार तथा विराट कोहलीको विकेट लिने खेलाडीलाई रु २५ हजारको पुरस्कार प्रोत्साहनको रूपमा दिने प्रतिवद्धता इसेवाको छ।

“नेपाली क्रिकेट टोलीलाई आजको खेलको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आजको म्याचमा हाम्रो राष्ट्रिय टोलीले मन र म्याच दुवै जित्न सफल होस् भनी कामना गर्दछौँ।नेपाली क्रिकेट टोलीबाट हाल्फ़ सेन्चुरी हान्ने खेलाडीलाई रु ५० हजार, पहिलो विकेट लिने खेलाडीलाई रु २५ हजार तथा विराट कोहलीको विकेट लिने खेलाडीलाई रु २५ हजारको पुरस्कार प्रोत्साहनको रूपमा दिने प्रतिवद्धता जाहेर गर्दछौँ।”,इसेवाले सामाजिक संजाल मार्फत घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *