June 25, 2024

एजेन्सी – युरोप छाडेर अमेरिका पुगेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आफ्नो नयाँ क्लब इन्टर मियामीसंग ट्रेबल जित्ने योजनामा छन्। मियामी गएको केहि समयमै एक उपाधि जितिसकेका मेस्सीले आउने समयमा दुई उपाधि जित्न सक्छन्।

मेस्सीको उच्च प्रदर्शनमा मियामीले गत महिना लिग्स कप जितेको थियो। मेस्सीको आगमन पश्चात सुरु भएको सो प्रतियोगितामा मियामी अपराजित रहँदै च्याम्पियन बनेको हो। मियामी यूएस ओपन कप जित्ने अभियानमा पनि छ।

मियामीले यूएस कपको सेमिफाइनलमा सिनसिनाटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अब यूएस ओपन कप उपाधिको लागि मियामीले हस्टन डायनामोको सामना गर्नेछ। मेस्सी प्रेरित मियामी पक्कै पनि सो उपाधि गुमाउने मुडमा हुने छैन।

त्यस्तै मियामीले मेजर सकर लिग कप जित्ने सम्भावनालाई पनि जिवितै राखेको छ। लिगकै बलियो मानिएको लस एन्जलस एफसीलाई पराजित गरेपछि मियामी एमएलएस कप जित्ने दौडमा देखिएको हो।

तर यो सहज भने पक्कै छैन। एमएलएस कप जित्नको लागि मियामीले निरन्तर जित निकालेर प्लेअफमा पुग्नुपर्नेछ। मियामी अहिले पूर्वी सम्मेलन तर्फको टेबलको १४ औं स्थानमा रहेको छ। सिजनका २५ खेल खेल्दा उसले २५ नै अंक बनाएको छ। अब मियामीसंग ९ खेल बाँकी छन्।

नयाँ फर्म्याट अनुसार आठौं र नवौं स्थानमा रहेका टोलीहरूलाई वाइल्ड कार्ड राउण्डमा भाग लिन सक्छन्। जहाँबाट सो राउण्डका विजेता शीर्ष सात स्थानमा रहेका टोलीहरू सहित प्लेअफमा प्रतिष्पर्धा गर्नेछन्।

मियामी अहिले नवौं स्थानको डिसी युनाइटेड भन्दा ८ अंकले पछि रहेको छ भने आठौँ स्थानको मोन्ट्रियल भन्दा १० अंकले पछि रहेको छ। मियामीले दुवै टोली भन्दा दुई कम खेल खेलेको छ। मियामीले निरन्तर जित निकाल्न सकेको खण्डमा वाइल्ड कार्ड राउण्डका लागि छनोट हुन सक्छ।

मेस्सीको आगमन पश्चात मियामीले कुनै पनि खेलमा पराजय भोगेको छैन। जसकारण मियामीले पक्कै पनि प्लेअफमा पुग्ने आशा राख्न सक्छ। तर त्यसमा मियामी कतिको सफल हुन्छ भन्ने कुरा भने समयले नै बताउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *