June 16, 2024

एजेन्सी – नेदरल्याण्ड्सका पूर्व प्रशिक्षक लुइस भान गालले कतारमा सम्पन्न विश्वकपमा धाँधली भएको आरोप लगाएका छन्। एक मिडियासंगको कुराकानीका क्रममा लुइस भान गालले अर्जेन्टिनालाई जिताउन कतार विश्वकपमा धाँधली भएको आरोप लागएका हुन्।

डच मिडिया एनओएसलाई अन्तर्वार्ता दिनेक्रममा भान गालले लियोनेल मेस्सी र अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाउने कुरा पूर्वनियोजित थियो भन्ने दावी गरे। त्यसक्रममा उनले अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेलमा रेफ्रिले लिएका निर्णयहरु बारे प्रश्न समेत उठाए।

“म यस बारे धेरै कुरा गर्न त चाहन्न। अर्जेन्टिनाले गोलहरू कसरी प्राप्त गर्यो र हामी कसरी गोलहरू प्राप्त गर्यौं हेर्ने हो भने सबै स्पष्ट हुन्छ। अर्जेन्टिनाका केही खेलाडीहरूले नियम तोड्दा सजाय पाएनन्। त्यहि भएर मलाई लाग्छ कि यो एक पूर्वनियोजित खेल थियो।”,भान गालले भने।

नेदरल्याण्ड्स र अर्जेन्टिना बीच कतार विश्वकपको क्वाटरफाइनलमा भेट भएको थियो। निक्कै तनावपूर्ण बनेको खेलमा कुल १६ पहेंलो कार्ड र एक रेड कार्ड देखिएको थियो। पहिलो हाफमा नाहुएल मोलिनाको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो भने दोस्रो हाफको ७३ औं मिनेटमा पेनाल्टी गोल गर्दै मेस्सीले अर्जेन्टिनाको अग्रता दोब्बर परेका थिए।

तर नेदरल्याण्ड्सले खेलको अन्त्यमा दुई गोल गर्दै खेलमा कम्ब्याकको प्रयास गरेको थियो। निर्धारित समयपछि थप भएको खेल २-२ को बराबरीमा गएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा अर्जेन्टिना ४-३ को अन्तरले विजयी भएको थियो। अर्जेन्टिनासंगको हारपछि लुइस भान गाललाई प्रशिक्षक पदबाट हटाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *