June 14, 2024

एजेन्सी – रियल म्याड्रिडक पूर्व स्टार खेलाडी एडेन हाजार्डले निकट भविष्यमा फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। छिट्टै आउँदै गरेको नयाँ वृत्तचित्रमा हाजार्ड छिट्टै सन्यास लिने योजनामा रहेको संकेत गर्दै देखिएका हुन्।

बेल्जियमको राष्ट्रिय टोलीलाई आधार बनाएर निर्माण गरिएको ‘बिलिभ’ नामक वृत्तचित्रको प्रोमोमा हाजार्ड सन्यासको संकेत गर्दै गरेको देखिएका छन्। हाजार्डले बिस्तारै परिवार र साथीहरुसंग जीवनको आनन्द लिने समय आएको बताइरहेको सो वृत्तचित्रको प्रोमोमा देख्न सकिन्छ।

“बिस्तारै मेरो परिवार र साथीहरूसँग जीवनको आनन्द लिने समय आइरहेको छ, केही जुपिलर बियर पिउँदै।”,हाजार्डले सन्यासको संकेत गर्दै भनिरहेको सुन्न सकिन्छ। बेल्जियम अन्तर्राष्ट्रियलाई व्यापक रूपमा आफ्नो पुस्ताको सबैभन्दा प्रतिभाशाली आक्रमणकारी खेलाडीहरू मध्ये एक मानिन्छ।

हाजार्डले चेल्सीका लागि उच्च प्रदर्शन गरेका थिए। सन् २०१९ मा उनी रियल म्याड्रिड पुगेका थिए। तर रियल म्याड्रिड बसाई उनका लागे त्यस्तो खास हुन सकेन। निरन्तर चोटले दुख दिँदा उनको रियल ट्रान्सफर फ्लप सावित भयो।

हाजार्ड अहिले फ्री एजेन्ट छन्। रियल म्याड्रिडसंगको सम्झौता आपसी सहमतिमा रद्द गरेयता उनी कुनै पनि क्लबमा आवद्ध भएका छैनन्। जसकारण उनले क्लब फुटबलबाट पनि सन्यास लिन आँटेको चर्चा भइरहेको छ। स्मरण रहोस्, राष्ट्रिय टोलीबाट उनले यस अगाडी नै सन्यास लिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *