June 14, 2024

एजेन्सी – ईएसपीएनका फुटबल विश्लेषक क्रेग बर्लीले यस पटकको बालोन डी’ओरको वास्तविक हकदार म्यानचेस्टर सिटीका एर्लिङ हालाण्ड रहेको दावी गरेका छन्। ईएसपीएनको एक कार्यक्रममा बोल्ने क्रममा बर्लीले बालोन डी’ओर अर्जेन्टिना स्टार लियोनेल मेस्सी भन्दा पनि हालाण्डलाई दिइनुपर्ने बताएका हुन्।

मेस्सीले अर्जेन्टिनासंग विश्वकप जितेको भएपनि पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि राम्रो प्रदर्शन गर्न नसकेको बर्लीले बताए। मात्र चार साताको विश्वकप प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा मेस्सीलाई बालोन डी’ओर दिइनु अनुचित हुने उनको भनाई छ।

“यदि एर्लिङ हालाण्डले बालोन डी’ओर जितेनन् भने पसल बन्द गर्दा हुन्छ। लियोनेल मेस्सीले विश्वकप जिते र यो पक्कै पनि ठूलो उपलब्धि हो। तर यो प्रतियोगिता मात्र चार साताको थियो। लिगमा भने मेस्सी उत्कृष्ट थिएनन्, पिएसजीसंग उनले खराब खेलेका थिए।”,बर्लीले भने।

त्यसक्रममा बर्लीले ५० भन्दा बढी गोल गर्दै हालाण्डले प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग जितेको हुँदा हालाण्डले नै बालोन डी’ओर जित्नु पर्ने तर्फ गरे। बालोन डी’ओरका लागि धेरै पत्रकारले मेस्सीको समर्थनमा मतदान गर्ने सम्भावना रहेको उल्लेख गर्दै त्यस्ता पत्रकारहरुलाई उनले कठपुतलीको संज्ञा दिए।

उनले भने,”एर्लिङ हालाण्ड ? ५० भन्दा बढी गोल, प्रिमियर लिगको उपाधि, एफए कप र च्याम्पियन्स लिग उपाधि जित्ने हालाण्डले यो अवार्ड जित्नुपर्छ। तर धेरै कठपुतली पत्रकारहरुले मेस्सीको समर्थनमा भोट गर्नेछन्।”

फ्रान्स फुटबलले बालोन डी’ओर अवार्डका लागि ३० जना खेलाडी सहितको मनोनयन सार्वजनिक गरिसकेको छ। मनोनयनमा मेस्सी र हालाण्डका अलावा किलियन एम्बाप्पे, करिम बेन्जेमा, मोहम्मद सलाह सहित विभिन्न स्टार खेलाडीहरु छन्। तर बालोन डी’ओरका लागि मुख्यतः विश्वकप विजेता मेस्सी र ट्रेबल विजेता हालाण्ड बीच प्रतिष्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *