June 25, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग फ्रान्सको लिग १ भन्दा राम्रो हुनसक्ने दावी गरेका छन्। एक मिडियासंगको कुराकानीका क्रममा नेयमारले साउदी प्रो लिग फ्रान्सको लिग १ भन्दा राम्रो हुनसक्ने दावी गरेका हुन्।

विश्वकप छनोटमा बोलिभियाको सामना गर्नु अगाडीको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा नेयमारले विस्तारै धेरैले साउदी लिगलाई पछ्याउने बताए। अहिले बेवास्ता गर्नेहरुले पनि विस्तारै साउदी लिगलाई पछ्याउने नेयमारको भनाई छ।

त्यसक्रममा नेयमारले साउदी प्रो लिग बलियो लिग रहेको पनि बताउन छुटाएनन्। लिगमा भित्र्याइएका ठूला स्टारहरुका अधारमा साउदी लिग फ्रान्सको लिग वान भन्दा राम्रो हुन सक्ने नेयमारले दावी गरे।

“जसले साउदी लिगलाई बेवास्ता गर्न खोज्छन्, उनीहरूले यसलाई चाँडै पछ्याउन थाल्नेछन्। म उनीहरूलाई भन्छु कि साउदी बलियो लिग हो। साउदीले हस्ताक्षर गरेका सबै नामहरू हेर्नुहोस्। साउदी लिग १ भन्दा राम्रो हुन सक्छ।”,नेयमारले भने।

नेयमार यसै समर ट्रान्सफर विन्डोमा पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट साउदी क्लब अल हिलाल पुगेका हुन्। नेयमारले आफ्नो नयाँ क्लबका लागि डेब्यू भने गर्न बाँकी नै छ। अल हिलाल पुग्दा चोट बोकेर पुगेका कारण उनले डेब्यू गर्न पाएका छैनन्।

अल हिलाल ट्रान्सफर हुनु अगाडी नेयमारले लिग वान क्लबमा ६ वर्ष बिताए। फ्रेन्च लिग वानमा नेयमारले पिएसजीका लागि कुल १ सय १२ खेल खेले। जसमा उनले ८२ गोल गर्दा ५० असिस्ट दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *