June 14, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले यसपालि बालोन डी’ओर आफूले जित्ने सम्भावना रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा हालाण्डले बालोन डी’ओर जित्ने आफ्नो सम्भावना रहेको बताएका हुन्।

यस वर्ष बालोन डी’ओर जित्ने आफ्नो सम्भावना बारे फ्रान्स फुटबलसंग कुराकानी गर्नेक्रममा हालाण्डले आफू धेरै जवान रहेको र अझै सुधार गर्न ठाउँ रहेको बताए।

“म आफैंमा विश्वास गर्छु, म साँच्चै गर्छु। मलाई थाहा छ म अझै धेरै सुधार गर्न सक्छु, म अझै जवान छु। तर हो, मलाई लाग्छ कि यो वर्ष मेरो मौका छ।”,हालाण्डले भने।

सन् २०२३ को बालोन डी’ओरका लागि ३० खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी रहेपनि बालोन डी’ओर अवार्डका लागि मुख्यतः अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र हालाण्ड बीच प्रतिष्पर्धा हुनेछ।

हालाण्डले म्यानचेस्टर सिटीसंग ट्रेबल जितेका थिए। सिटी प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जित्दा महत्वपूर्ण भूमिका निभाएका थिए। उनले सिजनभरमा कुल ५२ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *