June 25, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानमा सिजनको पहिलो हार बेहोरेको छ। पिएसजीले शुक्रबार राति घरेलु मैदानमै निस विरुद्धको खेलमा पराजय भोगेको हो।

निस विरुद्धको खेलमा बलमा राम्रो नियन्त्रण राखेर पनि पिएसजीले हार टार्न सकेन। पिएसजी निससंग ३-२ को गोल अन्तरले पराजित भयो। निसका लागि टेरेम मोफ्फीले दुई गोल गर्दा गाएटान लाबोर्ड़ेले एक गोल गरे।

पिएसजीका लागि किलियन एम्बाप्पेले दुई गोल गरेपनि हार तर्न पर्याप्त भएन। खेलको २१ औं मिनेटमै पिएसजी मोफ्फीको गोलबाट पछि परेको थियो। तर खेलको २९ औं मिनेटमा एम्बाप्पेले बराबरी गोल फर्काए।

खेलको ५३ औं मिनेटमा गाएटान लाबोर्ड़ेले गोल गर्दा पिएसजी पुनः पछि पर्यो। खेलको ६८ औं मिनेटमा मोफ्फीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। खेलको ८७ औं मिनेटमा एम्बाप्पेले पिएसजीका लागि दोस्रो गोल गरे।

त्यसपछि थप गोल हुन नसक्दा पिएसजी हार बेहोर्न बाद्य भयो। यस हार पश्चात पिएसजी तेस्रो स्थानमा झरेको छ भने निस दोस्रो स्थानमा उक्लिएको छ। पिएसजीले ५ खेलमा २ जित, २ बराबरी र एक हार सहित ८ अंक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *