June 14, 2024

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले सिजनको चौंथो जित निकाल्न सफल भएको छ। शनिबार राति अल नसरले अल रैद विरुद्धको खेलमा सहज जित निकाल्न सफल भएको हो।

अल नासरले अल रैदलाई ३-१ को गोल अन्तरले पराजित गर्यो। अल नासरका लागि साडियो माने, टालिस्का र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे भने अल रैदका लागि एक मात्र गोल मोहम्मद फौजेरले गरे।

पहिलो हाफको अन्तिम समयमा मानेको गोलबाट अल नासरले अग्रता लिएको थियो। पहिलो हाफको ४५ मिनेट पश्चात थप भएको समयमा अल रैद १० खेलाडीमा सिमित हुन पुग्यो। बान्डेर ह्वाएसही रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए।

खेलको ४९ औं मिनेटमा गोल गर्दै टालिस्काले अल नासरको अग्रता दोब्बर पारे। त्यस्तै रोनाल्डोले खेलको ७८ औं मिनेटमा गोल गर्दा अल नासर ३-० को अग्रतामा पुग्यो। खेलको ८९ औं मिनेटमा अल रैदले पेनाल्टी मार्फत एक गोल गर्यो।

साउदी प्रो लिगमा अल नासरको यो लगातार चौंथो जित हो। सिजनका पहिला दुई खेलमा हार बेहोरेपछि अल नासरले लगातार चार खेलमा जित निकालेको छ। १२ अंक सहित अल नासर छैठौं स्थानमा छ। पराजित अल रैद ४ अंक सहित १५ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *