June 25, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार अर्जेन्टिनी स्टार लियोनेल मेस्सी सन् २०२४ मा हुने ओलम्पिकका लागि अर्जेन्टिनाको टोलीमा समावेश हुन सक्छन्। अर्जेन्टिनाका पूर्व खेलाडी जेभियर मास्चेरानोको भनाईका आधारमा केहि खेल मिडियाहरुले मेस्सी अर्जेन्टिनाको ओलम्पिक स्क्वाडमा समावेश हुन सक्ने बताएका हुन्।

हालसालै एक अन्तर्वार्ताका क्रममा मास्चेरानोले मेस्सी फ्रान्समा हुने ओलम्पिकमा अर्जेन्टिनाको टोलीबाट खेल्न सक्ने बताए। करियरको अन्त्य तिर रहेका मेस्सी र एन्जेल डी मारिया दुवै अर्जेन्टिनाको टोलीमा हुन सक्ने उनको भनाई छ।

मेस्सी र डि मारिया फ्रान्समा हुने ओलम्पिकको लागि अर्जेन्टिना टोलीको हिस्सा बन्न सक्छन् भनेर प्रश्न गरिँदा मास्चेरानोले भने,”स्पष्ट रूपमा यो हुन सक्छ। यस प्रकारका खेलाडीहरू पाउनु हाम्रो लागि ठूलो गर्वको स्रोत हो। लियो र डी मारिया ओलम्पिकमा अर्जेन्टिनाको साथमा हुन सक्छन्।”

मेस्सी हाल संयुक्त राज्य अमेरिकामा इन्टर मियामीको लागि खेलिरहेका छन्। पेरिस सेन्ट-जर्मन(पिएसजी)मा आफ्नो सम्झौता सकिएपछि मेस्सी मियामीमा आवद्ध भएका हुन्।

मेस्सी र डी मारिया दुवै सन् २००८ को ओलम्पिक गोल्ड मेडल जित्ने अर्जेन्टिनी टोलीमा थिए। त्यसबेला डी मारियाले नाइजेरिया विरुद्ध निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जिताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *