June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले उचित सम्मान नपाएका कारण पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेको संकेत गरेका छन्। एक कुराकानीका क्रममा मेस्सीले पिएसजीमा उचित सम्मान नपाएका कारण क्लब छाडेको संकेत गरेका हुन्।

ओल्गासंगको कुराकानीका क्रममा मेस्सीले स्पष्ट रुपमा विश्वकप जितेपछि पिएसजीमा आफूलाई खासै महत्व नदिइएको बताए। पिएसजीमा आफू एक्लो विश्वकप विजेता खेलाडी भएपनि पिएसजीले नजरअन्दाज गरेको संकेत मेस्सीले गरे।

“पिएसजीमा मैले राम्रो प्रदर्शन नगरे पनि त्यहाँ म विश्व च्याम्पियन बन्न पुगें। जे हुन्छ केहि न केहि कारणले हुन्छ। त्यसबेला म क्लबमा एक्लो विश्वविजेता थिएँ, तर क्लबले खासै महत्व दिएन र मान्यता दिएन।”,मेस्सीले भने।

मेस्सी र पिएसजी बीच विश्वकपका क्रममा सम्झौता थप गर्ने मौखिक सहमति भएको थियो। तर पछि पिएसजी र मेस्सी बीचको सम्बन्ध यसरी बिग्रियो कि मेस्सीले सम्झौता थप गर्न नै चाहेनन्।

सन् २०२२-२३ को सिजन सकिएसंगै मेस्सीले क्लब छाडे। पछि मेस्सीले अमेरिकी क्लब इन्टर मियामी आवद्ध हुने निर्णय गरे। मेस्सी यति बेला अमेरिकामा रमाउँदै फुटबल खेलिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *