June 25, 2024

एजेन्सी – साउदी अरेबियन क्लब अल इत्तिहाद साउदी प्रो लिगको शिर्ष स्थानमा उक्लिएको छ। बिहिबार राति अल फतेहलाई पराजित गर्दै अल इत्तिहाद लिगको शिर्ष स्थानमा उक्लिएको हो।

अल इत्तिहादले बिहिबार राति अल फतेहलाई २-१ को गोल अन्तरले पराजित गर्यो। अल इत्तिहादको जितमा रोमारिन्हो र एन्गोलो कान्टेले एक-एक गोल गरे। त्यस्तै फतेहका लागि भने मार्वाने साडानेले एक गोल गरे।

खेलको ३० औं मिनेटमा साडानेले गोल गर्दै फतेहलाई अग्रता दिलाएका थिए। तर खेलको ३८ औं मिनेटमै इत्तिहादले बराबरी गोल फर्कायो। सो गोल रोमारिन्होले गरेका थिए। त्यस्तै ४५ मिनेट पछि थप भएको पहिलो मिनेटमा कान्टेले गोल गर्दा इत्तिहादले अग्रता लियो।

त्यस्तै बिहिबार राति नै भएको अर्को खेलमा अल हिलाल बराबरीमा रोकिएको छ। खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा अल हिलाल अल अहली साउदीसंग १-१ को बराबरीमा रोकिएको हो।

खेलको ९ औं मिनेटमै अल हिलालले मालकमको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा अग्रतालाई जोगाएपनि खेलको ६८ औं मिनेटमा अहलीले बराबरी गोल फर्कायो। सो गोल निकोले स्टानसीउले गरेका थिए।

यस बराबरीसंगै अल हिलाल दोस्रो स्थानमा झरेको छ। अल इत्तिहाद शिर्ष स्थानमा उक्लिएको छ। समान ७ खेलबाट अल हिलालले १७ अंक बनाएको छ भने इत्तिहादको १८ अंक छ। त्यस्तै अहली १५ अंक सहित ५ औं स्थानमा छ भने फतेह ११ अंक सहित ७ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *