June 22, 2024

एजेन्सी – मेजर सकर लिगको प्लेअफमा पुग्ने इन्टर मियामीको सपना पुनर्जीवित भएको छ। मेजर सकर लिगमा मियामी भन्दा अगाडी रहेका तीन टोलीले हार बेहोरेसंगै मियामीको प्लेअफ पुग्ने सपना पुनर्जीवित भएको हो।

गत साता मियामी एटलान्टा युनाइटेडसंग पराजित भएको थियो। सो पराजयसंगै मियामी प्ले अफ पुग्ने सम्भावना न्यून बनेको थियो। तर मियामी भन्दा अगाडी रहेका तीन क्लबले हार बेहोर्दा त्यसको फाइदा मियामीलाई पुग्ने देखिएको छ।

आइतबार बिहान डीसी युनाइटेड, मोन्ट्रियल र चार्लोटले आफ्नो-आफ्नो खेलमा पराजय भोगे। डीसी युनाइटेड न्यूयोर्क रेड बुल्ससंग ५-३ को गोल अन्तरले पराजित हुँदा मोन्ट्रियल एटलान्टा युनाइटेडसँग ४–१ ले पराजित भयो।

त्यस्तै आइतबार नै चार्लोटलाई सिनसिनाटीले ३-० को गोल अन्तरले पराजित गर्यो। डीसी युनाइटेडले मियामी भन्दा ३ बढी खेल खेलेको छ। डीसी युनाइटेड मियामी भन्दा ५ अंकले अगाडी रहेको छ। त्यस्तै मोन्ट्रियल डीसी युनाइटेड भन्दा १ अंक तथा मियामी भन्दा ६ अंकले अगाडी रहेको छ।

मोन्ट्रियलले मियामी भन्दा २ बढी खेल खेलिसकेको छ। त्यस्तै चार्लोट भने मियामी भन्दा एक बढी खेल खेलेर मात्र २ अंकले अगाडी छ। मियामीका हातमा अब ६ खेल बाँकि छन्।

बाँकी सबै खेलमा जित निकाल्न सकेको खण्डमा मियामी आठौँ वा नवौं स्थानमा रहेर वाइल्ड कार्ड राउण्डमा सहभागी हुन सक्नेछ। जहाँबाट सो राउण्डको विजेताको रुपमा मियामी प्लेअफ पुग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *