June 14, 2024

एजेन्सी – न्यूक्यासल युनाइटेडका पूर्व खेलाडी शे गिभेनले यूईएफए च्याम्पियन्स लिगमा नरहेका कारण लिभरपुललाई फाइदा पुग्न सक्ने बताएका छन्। एक स्तम्भ मार्फत उनले यूईएफए च्याम्पियन्स लिगमा नरहेका कारण लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फाइदा पुग्न सक्ने बताएका हुन्।

युरोपा लिग सहज हुने भएका कारण लिभरपुलले प्रिमियर लिग उपाधि होडमा म्यानचेस्टर सिटीलाई टक्कर दिन सक्ने गिभेनले आफ्नो स्तम्भमा उल्लेख गरेका छन्। उनका अनुसार युरोपा लिगका खेलहरु च्याम्पियन्स लिग जस्तो कठीन हुने छैन र लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले टोलीलाई घुमाएर प्रयोग गर्न सक्नेछन्।

“लिभरपुललाई युरोपा लिग मन पर्दैन, तर यसले सिटीलाई उपाधि होडमा टक्कर दिन मद्दत गर्नेछ। म युरोपा लिग सजिलो छ भनेर भन्दैन, तर तथ्य यो हो कि टोलीहरू राम्रो छैनन्। यसको मतलब क्लोपले आफ्नो टोली घुमाउन सक्षम हुनेछन्।”,गिभेनले लेखेका छन्।

गत सिजनको कम्जोर प्रदर्शनका कारण लिभरपुल यस सिजन च्याम्पियन्स लिग नभई युरोपा लिग खेलिरहेको छ। युरोपा लिग च्याम्पियन्स लिग जस्तो कठीन नहुने हुँदा लिभरपुलले दोस्रो रोजाईका खेलाडीहरुलाई प्रयोग गर्न सक्छ।

यस्तोमा लिभरपुलका पहिलो रोजाईका खेलाडीहरुले राम्रो आराम पाउनेछन्। यस्तो हुँदा लिभरपुलले प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न सक्छ। लिभरपुल जारी सिजनमा अपराजित छ। ६ खेलमा ५ जित निकाल्दै लिभरपुल दोस्रो स्थानमा छ। सिटी लिभरपुल भन्दा मात्र दुई अंकले अगाडी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *