June 17, 2024

एजेन्सी – स्पेनिस लालिगा लिडर बार्सिलोना रोकिएको छ। मंगलबार राति बार्सिलोना मालोर्कासंग रोकिन पुगेको हो। मालोर्काको घरेलु मैदानमा भएको खेलमा मालोर्का विरुद्ध जित निकाल्ने निरन्तर प्रयास गरेपनि बार्सिलोना २-२ को बराबरीमा रोकियो।

बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा बार्सिलोनाले जित निकाल्न सकेन। बार्सिलोनाका लागि राफिन्हा र फर्मिन लोपेजले गोल गर्दा मालोर्काका लागि भेदात मुरीकी र आब्दोन प्राट्सले गोल गरे।

घरेलु टोलीले खेलको आठौँ मिनेटमै अग्रता लिएको थियो। बार्सिलोना गोलरक्षक टर स्टेगनले दिएको पास मालोर्काका खेलाडीको खुट्टामा सिधै गएपछि बार्सिलोनाले पहिलो गोल बेहोरेको थियो। सो गोल मुरीकीले गरेका थिए।

बार्सिलोनाले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्कायो। राफिन्हाले बक्स बाहिर बाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो। त्यसको केहि मिनेट नबित्दै घरेलु टोलीले पुनः अग्रता लियो।

मुरीकिको हेडर पासमा आब्डोनले गोल गर्दै घरेलु टोलीलाई ४५ मिनेट पछि थप भएको तेस्रो मिनेटमा अग्रता दिलाए। ७५औं मिनेटमा बल्ल बार्सिलोनाले बराबरी गोल फर्कायो।

यस बराबरी संगै लालिगामा बार्सिलोनाको १७ अंक भएको छ। एक खेल कम खेलेको जिरोना र रियल म्याड्रिडका १६ र १५ अंक रहेको छ। मालोर्का भने सात खेलमा ६ अंक जोडेर १५ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *