June 25, 2024
तस्विर: हाम्रो खेलकुद

काठमाडौँ – नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले १९औं एसियाली खेलकुदमा पदक जित्ने आफूहरुको योजना रहेको बताएका छन्। एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलिया माथि सानदार जित निकालेपछि पौडेलले पदक जित्ने योजनामा आफूहरु रहेको बताएका हुन्।

मंगोलियालाई पराजित गरेपछि आफूहरुको ध्यान अब माल्दिभ्स तर्फ केन्द्रित भएको पौडेलले बताए। समूह चरणको जितमा रमाउन भन्दा पनि आफूहरु पदकका लागि चीन पुगेको पौडेलको भनाई छ।

माल्दिभ्स विरुद्धको खेल अगाडी खेल हुने हाङचाओको मौसम र पिचका बारेमा जानकारी लिने आफूहरुको योजना रहेको उनले सुनाए। मौसम र पिचको जानकारी लिएपछि त्यहि अनुसार तयारी गर्ने पौडेलले बताए।

“हामी १९औं एसियाली खेलकुदमा पदक जित्ने योजनाअनुरूप हाङचाओ आएका हौं। पहिलो खेल निकै राम्रो भयो। अब माल्दिभ्सविरुद्ध पनि यस्तै प्रदर्शन गर्नु आवश्यक छ। यहाँको कन्डिसनबारे हामीलाई धेरै कुरा अझै थाहा छैन। सबैभन्दा पहिले त्यसका बारेमा पनि जानकारी लिनु आवश्यक छ।”,पौडेलले भने।

त्यसक्रममा पौडेलले क्वार्टरफाइनलमा निकै बलिया टोली रहेको उल्लेख गर्न छुटाएनन्। उनले भने,”क्वार्टरफाइनलमा निकै बलिया टोली छन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता विश्वस्तरका टोलीसँग खेल्न र जित निकाल्न राम्रै मेहनत गर्नुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *