June 25, 2024

काठमाडौँ – १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत क्वाटरफाइनलमा भारतलाई नेपालले प्रतिद्वन्दीको रुपमा पाएको छ। प्रतियोगिताको क्वाटरफाइनलमा मंगलबार नेपाल र भारत आमने-सामने हुनेछन्।

टि २० आईमा नेपालले भारतको पहिलो पटक सामना गर्न लागेको हो। यस भन्दा अगाडी टि २० फर्म्याटमा नेपाल र भारतको भेट भएको छैन। यस भन्दा अगाडी नेपाल र भारत बीच एकदिवसीय क्रिकेटमा मात्र भेट भएको थियो।

एक महिनाअघि एसिया कप क्रिकेट पहिलोपटक भारतसँग ओडीआई खेलेको थियो। उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो। सो खेलमा नेपालले राम्रो ब्याटिङ गरेको थियो।

मंगलबार नेपालले एक महिना अगाडी सामना गरेको टोली भन्दा फरक टोलीको सामना गर्नेछ। विश्वकपको कारण भारतले एसियाड खेल्न दोस्रो रोजाईको खेलाडी पठाएको छ।

सो टोलीमा रुतुराज गाइकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिन्कु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिङ्टन सुन्दर, सहबाज अहमद, रवी बिसनोई, अभेष खान, अर्सदीप सिंह, मुकेश कुमार, शिवम दुबे, प्रभसिमरन सिंह र आकाश दीप छन्। गाइकवाडलाई भारतले कप्तानको जिम्मेवारी दिएर पठाएको छ। उनले भारतका लागि चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर कुल एक सय ६ रन बनाएका छन्।

टी—२० अन्तर्राष्ट्रिय खेलको कुरा गर्ने हो भने उनले ११ खेलमा दुई सय १२ रन बनाएका छन्। चेन्नई सुपर किङ्सका खेलाडी गाइकवाडले पछिल्लो आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। टोलीमा रहेका अन्य खेलाडीहरु पनि अनुभवी छन्। त्यसमद्ये धेरैले भारतका लागि खेल्ने मौका पाइसकेका छन् भने आइपीएलमा पनि पनि अनुभव उठाउने अवसर पाएका छन्।

यसैगरी एसियाली खेलकुदका लागि घोषित भारतीय टोल अर्सदीप सिंह पनि छन् । उनी तीव्र गतिका बायाँहाते बलर हुन् । २४ वर्षीय अर्सदिपले पनि भारतीय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय र टी—२० प्रतियोगिता खेलिसकेका छन् ।

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३३ खेल खेल्दै ५० विकेट लिएका छन् । उनी सन् २०२३ मा सम्पन्न आईपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् । उनी गत सिजनको आईपीएलमा पञ्जाब किङ्सका लागि सर्वाधिक विकेट लिने बलरमध्ये एक हुन् ।

यसैगरी एसियाली खेलकुदका लागि भारतीय टोलीमा रहेका यशस्वी जैसवालले त टेस्ट क्रिकेटसमेत खेलिसकेका छन् । २१ वर्षीय जैसवालले भारतका लागि दुई टेस्ट खेल्दै ८८.६६ को औसतले कुल दुई सय ६६ रन बनाएका छन् । टेस्ट क्रिकेटको एउटै पालीमा उनले एक सय ७१ रनसमेत बनाएका छन् ।

उनले आफ्नो वेस्ट इन्डिजविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ टेस्टमै उनले शतक बनाएका थिए । यसका अतिरिक्त जैसवालले भारतको पाँचवटा टी—२० अन्तर्राष्ट्रिय खेल खेलेर कुल एक सय ३२ रन बनाएका छन् । टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा उनले अविजित ८४ रन पनि बनाएका छन् । उनी राजस्थान रोयल्सबाट आईपीएल खेल्छन् । आईपीएलमा पनि उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ ।

यसैगरी एसियाली खेलकुदका लागि भारतीय टोलीमा परेका रिंकु सिंह पनि अनुभवी खेलाडी हुन् । यद्यपि, २६औँ वर्ष प्रवेशको तयारीमा रहेका सिंहले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् । उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेका छन् ।

सन् २०२३ को आईपीएलमा उनले कोलकाता नाइट राइडर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आईपीएलमा कोलकाताका लागि १४ खेल खेल्दै कुल चार सय ७४ रन बनाएका थिए । गत सिजनको आईपीएलमा उनले चारवटा अर्धशतक हिर्काएका थिए ।

भारतीय टोलीमा परेका तिलक बर्मा पनि एकदिवसीय र टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । २१औँ वर्ष प्रवेशको तयारीमा रहेका बर्मा अलराउन्डर खेलाडी पनि हुन् । यसका अतिरिक्त शिवम दुबेले पनि सन् २०२३ को आईपीएलमा चेन्नई सुपर किङ्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले चेन्नईका लागि १४ पालीमा चार सय १८ रन बनाएका थिए ।

यसैगरी वासिङ्टन सुन्दर पनि भारतीय टोलीका अनुभवी खेलाडी हुन् । २४औँ वर्ष प्रवेशको तयारीमा रहेका वासिङ्टनले भारतका लागि थुप्रै टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *