June 22, 2024

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल)को साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। आइपिएलको नयाँ सिजनको पहिलो खेलमा जित निकालेको चेन्नाईले दोस्रो खेलमा पनि जित निकालेको हो।

चेन्नाईले मंगलबार राति गुजरात टाईटन्सलाई सहजै पराजित गर्यो। चेन्नाईले एमए चिदम्बरम स्टेडियममा भएको खेलमा गुजरात माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो। चेन्नाईका लागि शिभम दुबेले सर्वाधिक २३ बलमा ५१ रन जोडे।

रचिन रवीन्द्रले २० बलमा ४६ रनको योगदान दिँदा कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन बनाए। मिचेल २४ रनमा नटआउट रहे। २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले १ सय ४३ रन भन्दा बनाउन सकेन।

गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनायो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए। रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए।

कप्तान शुभमन गीलले ८ रन भन्दा जोड्न सकेनन्। यस जितसंगै चेन्नाई आइपिएलको शिर्ष स्थानमा उक्लिएको छ। चेन्नाईले २ खेलबाट ४ अंक जोडेको छ। त्यस्तै २ अंक जोडेको गुजरात छैठौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *