June 25, 2024

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल)मा दोस्रो खेल खेल्नु अगाडी पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई झड्का लागेको छ। आइपिएलको जारी सिजनको दोस्रो खेलमा सनराइजर्स हैदराबादको सामना गर्नु अगाडी मुम्बईलाई झड्का लागेको हो।

मुम्बईका महत्वपूर्ण खेलाडीको रुपमा रहेका सूर्यकुमार यादव घाइते हुन पुगेका छन्। भारतीय मिडियाहरुका अनुसार सूर्यकुमार यादव चोटपछि राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) बैंगलोरमा पुनर्वासमा छन्।

पहिलो फिटनेस टेस्टपछि एनसीएले उनलाई क्लिन चिट दिएको थिएन। जसका कारण उनले गुजरात टाइटन्सविरुद्धको पहिलो खेल खेल्न सकेका थिएनन् । यसैबीच अब सूर्यकुमार यादवलाई दोस्रो फिटनेस परीक्षणपछि पनि आईपीएल खेल्न क्लिन चिट नदिइएको खबर आइरहेको छ।

वास्तवमा स्पोर्ट्स टकका अनुसार दोस्रो फिटनेस परीक्षणपछि पनि सूर्यले एनसीएबाट खेल्न क्लिन चिट पाउन सकेनन् । केही दिन अगाडि आएको प्रतिवेदनमा सूर्यको दोस्रो फिटनेस टेस्ट मार्च २१ मा गरिएको थियो।

२०२४ को टी–२० विश्वकपलाई ध्यानमा राखेर बीसीसीआईले हतारमा कुनै निर्णय लिन नचाहेको विश्वास गरिएको छ। यो वर्ष दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजमा सूर्यकुमार यादव घाइते भएका थिए ।

५ पटकको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो अर्को खेलमा आज सनराइजर्स हैदरावादसँग खेल्दैछ। हार्दिक पाण्ड्याको नेतृत्वमा पहिलो पटक इन्डियन प्रिमियर लिगमा प्रवेश गरेको मुम्बई इन्डियन्सको टोलीको सुरुवात खराब रह्यो । मुम्बई इन्डियन्स यसअघि पहिलो खेलमा गुजरात टाइटन्ससँग मात्र ६ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *