June 14, 2024

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुसँग वार्षिक सम्झौता गरेको छ। बुधबार क्यानले केन्दीय सम्झौतामा रहने खेलाडीहरुसँग बुधबार सम्झौता गरेको हो।

बुधबार क्यानले सम्झौतामा रहेका खेलाडीसँगको समझदारी पत्रमा हस्ताक्षर गराउनुका साथै सम्झौता पत्र वितरण समेत गर्यो। सचिव पारस खड्काले राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहितका खेलाडीलाई सम्झौता पत्र हस्तान्तरण गरे।

क्यानले यस अगाडी नै क्यानको केन्दीय सम्झौतामा हुने खेलाडीहरुको टुंगो लगाएको थियो। क्यानले ए, बी, सी, डी र इमर्जिङ क्याटोगरी छुट्याएर छुट्टा-छुट्टै पारिश्रमिक दिने घोषणा गरेको थियो।

‘ए’मा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख हुनेछ। यस श्रेणीमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल रहेका छन्।

त्यस्तै श्रेणी ‘बि’मा रहेका खेलाडीहरुले मासिक ७० हजार पारिश्रमिक पाउनेछन्। यस श्रेणीमा कुशल मल्ल, गुलसन झा, भीम सार्की, ललितनारायण राजवंशी, अरिफ शेख र अविनाश बोहरा छन्।

विनोद भण्डारीसँगै, अर्जुन साउँद, सन्दिप जोरा र प्रतिश जिसी ‘सी’ श्रेणीमा रहेका छन्। यी खेलाडीहरुले मासिक ५५ हजार पारिश्रमिक पाउनेछन्। श्रेणी ‘डी’का खेलाडीहरुले मासिक ३५ हजार पारिश्रमिक प्राप्त गर्नेछन्।

यस श्रेणीमा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन। त्यस्तै इमर्जिङ श्रेणीमा दीपेश कँडेल, रुपेश सिहं, रिजन ढकाल, विपिन खत्री, देब खनाल, अर्जुन घर्ति र हेमन्त धामी छन्। यी खेलाडीहरुले मासिक २० हजार पारिश्रमिक प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *