June 14, 2024

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा जितको ह्याट्रिक गरेको छ। इन्डियन प्रिमियर लिग(आइपिएल)को १७ औं संस्करणको तेस्रो खेलमा पनि राजस्थानले जित निकालेको हो।

सोमबार भएको खेलमा आरआरले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै विजयी झण्डा फहरायो। मुम्बईको वानखेडे स्टेडियममा एमआईले १२६ रनको लक्ष्य दिएको थियो, जसलाई राजस्थानले १५.३ ओभरमा चार विकेट गुमाएर पछ्यायो।

हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई टोलीले लगातार खेल जित्दै हार बेहोरेको छ । आरआरका लागि रियाग परागले उत्कृष्ट अर्धशतकीय खेले । उनले ३९ बलमा अविजित ५४ रन बनाए ।

परागले पाँच चौका र तीन छक्का प्रहार गरे । उनले आर अश्विन (१६) सँग चौथो विकेटका लागि ३२ रन जोडे। परागले शुभम दुबे (अनटआउट ८) सँग पाँचौं विकेटका लागि ३९ रनको अटूट साझेदारी गरे।

राजस्थानका ओपनर यशस्वी जयवाल (१०), जोस बटलर (१३) र कप्तान सञ्जु सामसन (१२) ले खास केही गर्न सकेनन्। मुम्बईका तेज बलर आकाश माधवालले तीन विकेट लिए।

मुम्बईले १२५/९ रन बनाएको थियो । आरआरका लागि ट्रेन्ट बोल्ट (२२ रनमा तीन विकेट) र युजभेन्द्र चहल (११ रनमा तीन विकेट)ले घातक बलिङ गरे । बलर नान्द्रे बर्गरले दुई विकेट लिए । एमआईका लागि हार्दिकले सर्वाधिक रन बनाए । उनले २१ बलमा ६ चौकासहित ३४ रन बनाए । तिलक वर्माले ३२ रनको इनिङ खेले ।

टस हारेर पहिले ब्याटिङमा आएको एमआईको सुरुवात निकै खराब रह्यो । बोल्टले पहिलो ओभरमा रोहित शर्मा र नमन धीरलाई प्याभिलियन पठाए । उनले तेस्रो ओभरमा डेवाल्ड ब्रेभिसलाई आउट गरे। तीनै जना गोल्डेन डकको सिकार भए । इशान किशन (१६) ले ठूलो इनिङ खेल्न सकेनन् । २० रनको स्कोरमा चार विकेट गएपछि मुम्बई धरापमा पर्यो ।

यसपछि हार्दिक र तिलकले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गर्दै विकेटको पतन रोकेका थिए । चहलले १० औं ओभरमा हार्दिक र १४ औं ओभरमा तिलकलाई शिकार गरे। टिम डेभिड (१७) ले छाप छोड्न सकेनन् । पियुष चावलाले मात्र ३ रन बनाउन सके । यस खेल पश्चात मुम्बई लालिगाको अन्तिम स्थानमा सिमित हुँदा राजस्थान शिर्ष स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *