June 14, 2024

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्न माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश दिएको छ।

पाटन उच्च अदालतले शुक्रबार मुद्दाको प्रारम्भिक सुनुवाइ झगडिया झिकाउन आदेश दिएको हो। उच्चका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले झगडिया झिकाउन आदेश दिएको सन्दीप पक्षका कानुन व्यवसायीहरुले जानकारी दिए।

उच्चले यस्तो आदेश दिएसंगै अब बल्ल मुद्दा सुरु भएको छ। उच्च अदालतले मुद्दा हेर्न आवश्यकता छैन भनेर भनेको भए मुद्दा त्यहीबाट टुङ्गिने थियो।

पुनरावेदन गरिएको कुनै मुद्दामा अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउन‍े गरिन्छ। मुद्दाका दुवै पक्षलाई झिकाउने आदेशसँगै वैशाख ३ गतेलाई अर्को पेसी तोकिएको छ।

“कतिपय मुद्दाहरूमा उच्च अदालतले मुद्दा हेर्न आवश्यकता छैन भनेर नहेर्न पनि मिल्छ र मुद्दा त्यहीबाट टुङ्गिन्छ। तर यो मुद्दामा अदालतले झगडिया झिकाउन भनेपछि यो मुद्दा सुरु भएको छ। झगडिया झिकाउन भनेको अदालतले यो मुद्दा स्वीकार गर्यो भन्नु हो। योसँगै अब अदालतमा मुद्दाको ‘पुनरावलोकन’ को ढोका खुलेको छ”,सन्दीपको पक्षमा बहस गरेका कानुन व्यवसायी सरोजकृष्ण श्रेष्ठले पत्रकारहरुलाई भने।

जबरजस्ती करणी मुद्दामा क्रिकेटर लामिछाने काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भइसकेका छन् । उनलाई ८ वर्ष कैदको सजाय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *