May 19, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले खराब लयलाई जारी नै राखेका छन्। पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकिरहेका कुशलले ओमानमा जारी एसीसी प्रिमियर कपमा खराब लयलाई जारी नै राखेका हुन्।

ओमानमा जारी एसीसी प्रिमियर कपमा कुशल निरन्तर शून्य रनमा आउट भइरहेका छन्। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा हङकङ विरुद्ध पनि कुशल शून्य रनमा आउट भए।

हङकङका तीव्र गतिका बलर आयुश शुक्लाको बलमा कुशल जिशान अलीबाट क्याच आउट भए। यस अगाडी कुशल हिलो सेमिफाइनल खेलमा शुक्रबार युएई विरुद्धको खेलमा पनि शून्य रनमा आउट भएका थिए।

समूह चरणको अन्तिम खेलमा पनि त्यस्तै भएको थियो। कम्जोर मानिएको साउदी अरेबिया विरुद्ध ओपनिङ गर्न पिचमा उत्रिएका कुशल शून्य रनमा आउट हुन पुगेका थिए।

कुशलले प्रतियोगिताको पहिलो खेलमा मलेसिया विरुद्ध भने २४ रन बनाएका थिए। त्यसपछि नेपालले कतारको सामना गरेको थियो। सो खेलमा कुशल ११ बलमा १२ रन बनाएर आउट भएका थिए।

कुशलले प्रतियोगिताको तेस्रो खेलमा हङकङ विरुद्ध भने सन्तोषजनक प्रदर्शन गरेका थिए। उनले सो खेलमा १९ बलको सामना गर्दै ३२ रन बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *